हेटौँडा, मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेत मोडस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा बुधबार ईभी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नम्बरको ईभी तीव्र गतिका कारण अनियन्त्रित भई सडकको बायाँतर्फको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाका बेला गाडीमा चालकसहित ८ जना सवार रहेकामा ६ जना सामान्य घाइते भएका छन्। घाइतेमध्ये चालक हेटौँडा उपमहानगरपालिका–१ लालझाडी निवासी ३९ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँ बन्दीपुर नगरपालिका–९ निवासी ३८ वर्षीय मनोज गुरुङ, उनकी श्रीमती २८ वर्षीया उषा गुरुङ, धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिका–४ निवासी ४१ वर्षीय विकास झा, भारत बिहार राज्य सितामढी जिल्लाका ३४ वर्षीय सोनु रौनिहार तथा उनकी श्रीमती २७ वर्षीया संगिता रौनिहार रहेका छन्। उनीहरूको छाती, निधार, हात तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि नेशनल अस्पताल, कलंकी काठमाडौं पठाइएको छ। दुर्घटनामा ईभीमा क्षति पुगेको भए पनि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको कमाण्डमा ट्राफिकसहित ५ सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।








