हेटौंडा, सोमबार मकवानपुरमा सवारी दुर्घटना र खोलाले बगाएर गरी दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको १९ नम्बर वडा नेवारपानीमा सोमबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा ९ का २५ वर्षीय अभिषेक सुवेदी रहेका छन् ।
नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिएर जाँदै गरेको बा.प्र.०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीले ट्रक र ट्रक चालक दाङको गडुवा गाउँपालिका २ का २३ वर्षीय चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ ।
यस्तै मकवानपुरको बकैया गाउँपालिका ६ जस्पलका ४२ वर्षीया नानीमाया तितुङको खोलाले बगाएर मृत्यु भएको हो । बाराको निजगढ १० लालस्थित पसलबाट घर फर्किने क्रममा उनलाई कैलेनी खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएकी उनको खोजतलासको क्रममा बाराको कोल्वीमा लाश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।