हेटौंडा, मकवानपुर जिल्लामा पहिलो पटक आयोजना हुन लागेको जिल्ला स्तरीय भेट्रान्स भलिबल प्रतियोगितामा नारायणी कलेज तथा तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले मुख्य प्रायोजक गर्ने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजना तथा छाहारी युवा सेवा समाज हेटौँडा ११ को सह आयोजनामा असोज ३ गतेदेखि ५ गतेसम्म हेटौँडाको हुप्राचौरमा प्रतियोगिता सञ्चालन हुनेछ ।
‘नेपालको राष्ट्रिय खेल भलिबल भएकोले गर्दा भलिबल खेललाई अगाडी बढाउने उद्देश्यले मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको हुँ ।’ शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नारायणी कलेज तथा तुल्सी मेहर मेमोरियल विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले भने –‘ ३५ वर्ष र ४० वर्ष उमेर समूहकाले खेल खेल्दै हुनुहुन्छ । भलिबल खेलप्रति आकर्षित गर्न र खेलप्रति युवाहरूको जोस जागर आवोस् भन्ने हेतुले केही रकम सहयोग गरेको हुँ ।’
मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा मकवानपुर जिल्ला भलिबल संघसँग सहकार्य गरी सञ्चालित हुने प्रतियोगितामा ‘प्लेयर अफ द डे’ हुने खेलाडीलाई पुरस्कार प्रदान गर्ने उनले उद्घोष गरे । प्रतियोगितामा मकवानपुर जिल्लालाई विगत १ वर्षदेखि कर्मथलो बनाई आर्मी, प्रहरी र सशस्त्र प्रहरी संगठन बाहेकका विभिन्न संघ संस्थामा कार्यरत ४० वर्ष पूरा भएका बाहिरी जिल्लाका कर्मचारीहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने मकवानपुर जिल्ला भलिबल संघका सदस्य मनोज लामा स्याङतानले बताए ।
एउटा टिममा बढिमा २ जना ३५ वर्ष पुरा भएका खेलाडीहरु पनि समावेश गराउन पाउने नियम बनाएको उनले बताए । प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । प्रतियोगितामा उत्कृष्ट सेटर, स्पाईकर र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको लागि टिम दर्ता शुल्क दुई हजार रुपैयाँ तोकेको छ । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।







