हेटौंडा, साउन १७ — सञ्चारिका समूह मकवानपुरले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई एक विशेष समारोहमा सम्मान गरेको छ। ‘देश चिनाउनेसँग हाम्रो चिनजान एवं सम्मान कार्यक्रम’ अन्तर्गत शनिबार हेटौंडामा आयोजित कार्यक्रममा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानियाँले गर्नु भएको थियो। पुरस्कार हस्तान्तरण हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक पुरणबहादुर जोशी र उप–प्रमुख बानियाँले संयुक्त रूपमा गरे। पुरस्कारको व्यवस्थापन हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गरेको हो।
सम्मान ग्रहण गर्दै कप्तान साम्बाले बाल्यकालको संघर्षको कथा सुनाउँदै भनिन्, “मैले मोजाबाट बनाएको बलले फुटबल यात्रा सुरु गरेकी थिएँ। अभाव र चुनौतीका बीच मैले आजको मुकाम पाएको छु।” उनले आफ्नो सफलताको श्रेय दृढ संकल्प, निरन्तर मेहनत र परिवारको साथलाई दिइन्।
कार्यक्रममा नगर उप–प्रमुख राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीका लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, सञ्चारिका समूह मकवानपुरकी उपाध्यक्ष जमुना तामाङ, र समूहकी पूर्व अध्यक्ष सरिता दाहाललगायत वक्ताहरूले साम्बाको उपलब्धि नेपालकै गौरव भएको उल्लेख गरे।
वक्ताहरूले साम्बाले फुटबलमा पुर्याएको योगदानले सम्पूर्ण युवा पुस्तालाई प्रेरणा दिएको भन्दै यस्तो सम्मानले राष्ट्रिय प्रतिभाहरूलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे।






