हेटौंडामा शिक्षक भलिबल प्रतियोगिता शुरू

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट हेटौंडामा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता शुरू भएको छ । शुक्रबार भएको पहिलो खेलमा सनसाइन इङ्लिस सेकेण्डरी माध्यमिक विद्यालय विजयी भएको छ । सनसाइनले कृष्ण आदर्श माध्यमिक विद्यालयलाई २५–२७, २५–२० र १५–११ को सेटले पराजित गरेको हो । शुक्रबार भएको दोस्रो खेलमा भानु माध्यमिक विद्यालय विजयी भएको छ । भानुले नवोदय शिशु सदन माध्यमिक विद्यालयलाई २५–१४ र २५–१७ को सोझो सेटले पराजित गरेको हो ।

यसैगरी शुक्रबार भएको तेस्रो खेलमा हेटौंडा क्याम्पस विजयी भएको छ । जनज्योति माध्यमिक विद्यालयसँग पहिलो सेट २५–१४ ले पराजित भएको हेटौंडा क्याम्पस दोस्रो र तेस्रो सेटमा ‘कम ब्याक’ हुँदै खेलमा विजयी बन्यो । हेटौंडा क्याम्पसले दोस्रो सेट २६–२४ र तेस्रो सेट १५–९ ले विजयी बन्यो । चौथो खेलमा शारदा माध्यमिक विद्यालय विजयी भएको छ । महेन्द्र माध्यमिक विद्यालयले पहिलो सेट २५–२२ ले विजयी भएको थियो । दोस्रो र तेस्रो सेट शारदाले महेन्द्रलाई २५–१७ र १५–९ ले पराजित गर्न सफल भयो ।

शुक्रबार भएको पाँचौ खेलमा तुल्सी मेहर माध्यमिक विद्यालय र बालज्योति माध्यमिक विद्यालयबिचको खेलमा तुल्सी विद्यालयले बाई पाएको छ । खेलमा बालज्योति विद्यालयका शिक्षक अनुपस्थित भएपछि तुल्सीले बाई पाउँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । यसैगरी शुक्रबार भएको छैठो खेलमा जीएस निकेतन विद्यालय विजयी भएको छ। जीएसले श्रमिक माध्यमिक विद्यालयलाई २५–१९ र २५–१७ को सोझो सेटले पराजित गरेको हो ।

शुक्रबार भएको सातौ खेलमा जनक माविले भुटनदेवी माविलाई २५–१४ र २५–१५ को सोझो सेटले पराजित गर्न सफल भयो । शुक्रबार भएको आठौँ खेलमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले सत्यम जेभियर्स विद्यालयलाई २५–२१ र २५–१३ को सोझो सेटले पराजित गर्न सफल भयो । आज शनिबार भानु माध्यमिक विद्यालय विरुद्ध सनसाइन इङ्लिस विद्यालय विहान ७ बजे, शारदा माध्यमिक विद्यालय विरुद्ध तुलसी मेहर माध्यमिक विद्यालयबिच विहान ८ बजे, जिएस निकेतन विरुद्ध जनक माविबिच विहान ९ बजे र आधुनिक मावि विरुद्ध हेटौंडा क्याम्पसबिच विहान १० बजे खेल हुने कार्यक्रम संयोजक राजाराम पोखरेलले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ।

शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, हेटौंडा क्याम्पसका प्रिन्सिपल देवीराम लामालगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button