स्क्रयाबल प्रतियोगितामा बालजागृतिका आरुश राजथला प्रथम, ५ जना राष्ट्रिय खेलमा छनौट

हेटौंडा, असोज ९ गते भएको जिल्लास्तरीय चौथो स्क्रयाबल प्रतियोगितामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका छात्र आरुश राजथला प्रथम भएका छन् । मकवानपुर जिल्लाका २३ विद्यालयका ४६ जना विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगितामा बालजागृति विद्यालयकै श्रीसुम श्रेष्ठ दोस्रो, सुनगाभा शिक्षा निकेतन विद्यालयका अमोघ चौलागाई तेस्रो र भुटनदेवी माध्यमिक विद्यालयका प्रशान्त शाह चौथो हुन सफल भए । स्क्रयाबल क्लब मकवानपुरको आयोजना तथा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको प्रायोजनमा भएको प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

‘आज भएको प्रतियोगितामा क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हुने भएका विद्यार्थीसँगै रिजभ प्लेयर बन्नु भएका प्रशिद्ध तिमल्सिनाले मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताको लागि छनौट हुनु भएको छ ।’ स्क्राबल क्लब मकवानपुरका अध्यक्ष विवशजंग थापाले भने –‘ यही कातिर्क ९ र १० गते गुल्मीमा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिता सञ्चालन हुँदै छ ।’ शब्द बनाउने प्रतिस्पर्धात्मक खेल जिल्लास्तरीय चौथो स्क्राबल च्याम्पियनसीपमा ३ राउण्डमा खेलहरु सञ्चालन गरिएको उनले बताए ।

प्रतियोगितामा पोखरा स्क्राबल तालिम संयोजक भोजराज सुवेदी, बारा जिल्लाका संयोजक सुबास अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । गत असारमा बालजागृति इंग्लिस स्कूलकै आयोजनामा स्क्राबल खेलसम्बन्धी एकदिवसीय जिल्लास्तरीय कार्यशाला समेत आयोजना गरिएको विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले बताए । बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा २ नम्वर वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी, वडा सदस्य सुरज बर्तौला, ईन्द्रप्रसाद रिजाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) का केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, स्क्राबल क्लब मकवानपुरका अध्यक्ष विवशजंग थापालगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button