हेटौंडा, हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार हेटौंडा एकेडेमी डान्सिङ आइडल प्रतियोगिता भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको प्रतियोगितामा नेपालको चर्चित मोडेल तथा नृत्यांगना रुबिना अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कक्षागत रुपमा डान्सिङ प्रतियोगिता भएको थियो ।
कक्षा २ देखि ५ सम्मको प्रतियोगितामा आरध्या भट्टराई, मान्सा गोले, सरगम कुवर, रोशना विष्ट, इभा घलान, यूनिक दवाडी प्रथम भएका थिए । त्यसैगरी कक्षा ६ देखि १० भएको प्रतियोगितामा आचल सुवेदी, श्रीया थापा, आयूसी लामा, प्रभा डिम्डुङ, कृतज्ञ सापकोटा, रिया पण्डित, युन्छेन गुरुङ, रेन आले मगर, सक्षम प्रजापति, दिबान्सु परियार, कुशल घिमिरे र अमन घलान प्रथम हुन सफल भएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा कलिउड कला केन्द्रका सञ्चालक सुजन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा १३ समूहले सहभागीता जनाएका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडाध्यक्ष जुना दहाल, व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गी, साथी मार्टका सञ्चालक सागर पोखरेल, लेखक ब्रिजेश खनाल, प्रमुख कार्यकारी अधिकृत रमेश रिमाल, प्रिन्सिपल गौरी चिमरिया लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ५ गते वृहत कवि सम्मेलन हुनेछ । नेपालका हास्यव्यंग्य कवि लक्ष्मण गामनागेको प्रमुख आतिथ्यतामा वृहत कवि सम्मेलन हुनेछ ।






