आजबाट यस बर्षको दशैं सुरु, घरघरमा घटस्थापना गरिँदै

हेटौंडा, आज सोमबारबाट यो वर्षको बडा दशैं पर्व सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घटस्थापना हो । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गररे तयार पारिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा तथा माटो ल्याएर जौ छरेर विधिपूर्वक जमरा राख्ने गरिन्छ ।

ADVERTISEMENT

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धुमधामका साथ नेपालीहरुले बडा दशैं पर्व मनाउने गरेका छन् । जौको अंकुर माता दुर्गाको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्रमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथोदिन कुष्माण्डा, पाँचौदिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दशैं पर्व सुरु भएसंगै कामको शिलशिलामा नेपालको विभिन्न स्थान पुगेका तथा विदेश गएकाहरु गाउँ फर्किन सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *