हेटौँडा , हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेसमा स्थापना गरिएको ‘इनोभेसन हब (आईहब)’ को आयोजनामा भएको ‘उद्यमी पाठशाला’ डेमो डे–२०२६ तथा दीक्षान्त समारोहमा तीन स्टार्टअप उत्कृष्ट घोषित भएका छन्। शनिबार आयोजित कार्यक्रममा विगत छ महिनादेखि उद्यमी पाठशालामा आबद्ध १२ वटा स्टार्टअपले आफ्ना नवप्रवर्तनात्मक व्यवसायिक अवधारणा, उपलब्धि तथा भावी योजना प्रस्तुत गरेका थिए। कार्यक्रममा १६ वर्षदेखि ६१ वर्ष उमेर समूहका २३ जना नवउद्यमी सहभागी भएका थिए।

प्रतियोगितामा सहभागी स्टार्टअपमध्ये एएसए फुड्स, बुकसाटाै र सान्साको भान्सा उत्कृष्ट घोषित भए । सहभागी स्टार्टअपहरूलाई तीन लाख रुपैयाँसम्मको बीउ पुँजी उपलब्ध गराइने क्याम्पसले जनाएको छ। हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेसका प्रधानाध्यापक पुरनबहादुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव खुबिराम अधिकारी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले बागमती प्रदेश सरकारले नवप्रवर्तन कोषमार्फत नवउद्यमीहरूलाई अनुदान सहयोग उपलब्ध गराउँदै आएको बताए। युवाहरूलाई नयाँ सोच, सीप र सिर्जनशीलतामार्फत उद्यमशीलतातर्फ अग्रसर गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेसले शिक्षासँगै सीप र उद्यमशीलतालाई जोडेर उदाहरणीय काम गरेको उनले बताए।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक जोशीले व्यवसाय तथा व्यापारलाई सफल बनाउन बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए। व्यवसाय सानो वा ठूलो नभई त्यसको व्यवस्थापन र प्रतिस्पर्धी क्षमताले सफलता निर्धारण गर्ने उल्लेख गर्दै उनले उद्यमी बन्न जोखिम बहन गर्न सक्नुपर्ने धारणा राखे। उनले प्रत्येक स्टार्टअपको व्यवसाय विस्तारका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। प्रतियोगिताको मूल्याङ्कन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक ईन्जिनियर उमेश कुमार गुप्ता, काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका निर्देशक प्राध्यापक डा. विनोदकृष्ण श्रेष्ठ तथा उद्योग वाणिज्य सङ्घ मकवानपुरकी महासचिव प्रतिमा श्रेष्ठले गरेका थिए।
कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा आयोजित उद्यम प्रदर्शनीमा सहभागीहरूले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शन गरेका थिए भने दोस्रो चरणमा आयोजित व्यवसायिक प्रस्तुति प्रतियोगितामा उद्यमीहरूले निर्णायक मण्डलिसमक्ष आफ्ना उद्यमको अवधारणा, सम्भावना तथा व्यवसायिक योजना प्रस्तुत गरेका थिए। कार्यक्रम संयोजक ईशा सिलवालले आईहबले विगत पाँच वर्षदेखि उद्यमशीलताको विकास र दिगो उद्यमशीलता इकोसिस्टम निर्माणका लागि काम गर्दै आएको बताइन्।
उनका अनुसार आईहबले हालसम्म व्यवसाय इन्क्युबेशनका पाँच समूह सञ्चालन गरिसकेको छ, जसमध्ये सात वटा व्यवसाय औपचारिक रूपमा दर्ता भइसकेका छन्। उनले उद्यमी पाठशाला छ महिनाको शैक्षिक इन्क्युबेशन कार्यक्रम भएको उल्लेख गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा प्रारम्भिक चरणका स्टार्टअपहरूलाई आवश्यक स्रोत, परामर्श, मार्गदर्शन र सञ्जाल विस्तारका अवसर उपलब्ध गराउने उद्देश्य रहेको बताइन्। उनका अनुसार उद्यमी पाठशालाको छैटौँ समूह आगामी २०८४ मंसिरदेखि सञ्चालन गरिनेछ। नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको यस वर्षको उद्यमी पाठशाला भव्य रूपमा सम्पन्न भएको क्याम्पसले जनाएको छ ।






