हेटौंडा, दीपावलीको अवसर पारेर मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका ९ च्याउच्याउमा जेके एफसी कप फुटल प्रतियोगिता सुरु भएको छ । बकैयाको जेके फुटवल क्लवको आयोजनामा बिहीबारबाट सुरु भएको उद्घाटन खेलमा जेके एफसी ए ले कान्द्राङ एफसीलाई १०–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
क्लवका अध्यक्ष बीरबहादुर सिंतानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि बानियाँले खेलको माध्यमबाट देशलाई चिनाउने कार्यको सुरुवात भइरहेको बताए । क्रिकेट, फुटलवललगायत खेलको माध्यमबाट विस्तारै नेपालको नाम चर्चामा आउन लागेको बताउँदै नेता बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले पनि खेलमा लगानी बढाउनुपर्ने बताए ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व गाउँपालिका अध्यक्ष दामोदर खनाल, बकैया ९ का वडा अध्यक्ष टंकध्वज लोप्चन, बकैया खेलकुद विकास समितिका संयोजक विजय थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कात्तिक १४ गतेसम्म संचालन हुुने प्रतियोगितामा २६ टिमले सहभागिता जनाएको क्लवका अध्यक्ष सिंतानले बताए। प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ३० हजार र १५ हजारसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ ।







