हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले २०८० मंसिर महिनामा बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ नगरमा रहेका सामूदायिक तथा संस्थागत विद्यालयमा बालक्लव गठनमा तीव्रता दिएको छ। सोही अनुरुप मङ्गलबार हेटौंडा ४ मा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा पनि बाल क्लव गठन भएको छ ।
कक्षा ९ मा अध्ययनरत छात्रा अनुषा उप्रेतीका अध्यक्षमा २५ सदस्यीय बाल क्लव गठन भएको हो । जसमा चिराग डंगोल उपाध्यक्ष, दर्शना सापकोटा सचिव, स्तुती गुरागाई सहसचिव र विमर्श श्रेष्ठ कोषाध्यक्ष पदमा चयन भएका छन् । हेटौंडा उपमहानगरपालिका बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गानाले सहजीकरण गरेकी थिइन् ।
हेटौडा उपमहानगरपालिकामा रहेका १९ वडामा रहेको १ सय २० वटा सामूदायिक तथा संस्थागत विद्यालयमा बालक्लव गठन गर्ने ढुङ्गानाले जानकारी दिए । ‘नगरमा रहेका हरेक विद्यालयमा ८ वर्षदेखि १८ वर्ष उमेर समूहका विद्यार्थी संलग्न गरी २५ सदस्यीय बालक्लव गठन गर्ने छौँ ।’– ढुङ्गानाले भनिन् । नेपालको संविधान २०७२ मा उल्लेख भएअनुरुप बालबालिकाको मौलिक हक सुनिश्चित गर्ने लक्ष्यसहित हेटौंडा उपमहानगरपालिकाले बालमैत्री घोषणा गर्न लागेको हो । यसअघि मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले पहिलो बालमैत्री गाउँपालिका घोषणा गरेको थियो ।