हेटौंडा, वडा अध्यक्ष पदमा रहँदै आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा लगाउँदै आएका हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शिक्षा क्षेत्रमा व्यक्तिगत लगानी गरिरहेका छन् । हेटौंडा–५ को वडा अध्यक्ष हुँदा शिक्षा र खेलकुद क्षेत्रमा विशेष प्राथमिकता दिएका उनले उपमेयर भएसंगै शिक्षा क्षेत्रलाई विशेष जोड दिइरहेका छन् ।
शिक्षाबाट मात्र समाज रुपान्तरण र परिवर्तन सम्भव हुने भएकोले शिक्षा क्षेत्रमा लगानी बढाएको उनको भनाई छ । बानियाँले मंगलबार हेटौंडा–५ पिप्लेस्थित बालज्योति माविलाई एकलाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम टेबल र सांस्कृतिक सामग्री खरिदका लागि सहयोग गरिएको उनले जानकारी दिए । उपमेयर बानियाँले उक्त रकम आफ्नो पारिश्रमिक बापत् प्राप्त हुने सेवा सुविधाबाट उपलब्ध गराएका हुन् ।
उपमहानगरको सम्पूर्ण सामुदायिक विद्यालयको शिक्षालाई थप प्रभावकारी बनाउन योजना बनाइरहेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षबाट प्राविधिक शिक्षा पनि थप्दै जाने बताए । उनले आफूले पारिश्रमिक बापत् प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधा रकम शिक्षामै खर्च गर्ने योजना बनाएको बताए । ‘अब शिक्षाबाटै आत्मनिर्भर बन्नुपर्छ । त्यसकारण उपमहानगरको स्वभाविक रुपमा बढी लगानी शिक्षामा रहन्छ’, विद्यालयका प्रधानाध्यापक भरत अर्याललाई रकम हस्तान्तरण गर्दै उनले भने । रकम हस्तान्तरण कार्यक्रममा हेटौंडा–५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे लगायतको उपस्थिती थियो ।