हेटौंडा, बागमती प्रदेश युवा परिषद्ले प्रदेशका युवालाई स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेशका १३ जिल्लाका ४ हजार ५ सय जना युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यका साथ प्रदेश युवा परिषद बागमतीले सीपमुलक तालिम सञ्चालन गर्न लागेको प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

‘सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ प्रदेशका युवालाई विभिन्न सीपमुलक तालिममा सहभागिता गराउन सूचना प्रकाशन गरेका छौं,’ चौलागाईले भने, ‘बागमती प्रदेशमा रहेका १३ वटै जिल्ला युवा समितिलाई सीपमुलक तालिमको बारेमा प्रचारप्रसार गर्नका लागि पत्राचार पनि गरेका छौं । बागमती प्रदेशका १३ वटै जिल्ला युवा समितिको कार्यालयमा सीपमुलक तालिम लिन इच्छुक युवाहरूले व्यक्तिगत विवरण भरी जिल्ला युवा समितिमा फर्म बुझाउन सक्नेछन् ।’ सीपमुलक तालिमको लागि फर्म भर्ने अन्तिम मिति चैत २५ गते रहेको छ ।
युवा लक्षित सञ्चालन हुने विभिन्न तालिम बैशाख ५ गतेबाट सुरू हुने उनले जानकारी दिए । बागमती प्रदेश युवा परिषद्ले युवालाई स्वरोजगार बनाउन नर्सरी तथा गार्डेन व्यवस्थापन (३९० घण्टे), ब्युटी पार्लर (१६०/३९० घण्टे), मोवाइल रिपेयरिङ, (३९० घण्टे), सुरक्षा गार्ड (१६० घण्टे), मन्टेश्वरी (३९० घण्टे), हलुका सवारी चालक (१६० घण्टे), मोटरसाइकल मर्मत (३९० घण्टे), टेलरिङ/सिलाइकटाई (१६०/३९० घण्टे), फेसन डिजाइन (३९० घण्टे), सहायक कुक (१६० घण्टे), वेटर (१६० घण्टे), हाउस किपिङ (१६० घण्टे), वारिष्टा (१६० घण्टे) तालिम सञ्चालन गर्दैछ । यसैगरी कृषि क्षेत्रतर्फ बेमौसमी तरकारी खेती (१६० घण्टे), मौरी पालन (१६० घण्टे), नेपाली हाते कागज बनाउने (१६० घण्टे), ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता (१६० घण्टे), सामुदायिक कृषि सहायक (१६० घण्टे), निर्माण क्षेत्रमा प्लम्बिङ (१६०/३९० घण्टे), विल्डिङ इलेक्ट्रिसियन/विद्युत (१६०/३९० घण्टे), डकर्मी/मेसन (१६० घण्टे), फर्निचर मेकर (१६० घण्टे) तालिम सञ्चालन हुनेछ ।
‘तालिम प्रदायक संस्थाले तालिम प्रदान गर्ने छन्,’ उनले भने, ‘३९० घण्टे, १६० घण्टे तालिम सञ्चालनका लागि तालिम प्रदायक संस्थाहरूसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको छ ।’ युवालाई स्वरोजगार बनाउन प्रदेश युवा परिषदले प्रदेश युवा सम्मेलन तथा विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको छ ।







