‘लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता’

हेटौडा, बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता रहेको बताएका छन् । उनले संविधान निर्माणपछि देशमा धार्मिक स्वतन्त्रता रहेको बताए । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपाल मकवानपुरद्वारा मंगलबार हेटौंडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले लोकतन्त्रपछि देशमा धार्मिक स्वतन्त्रता आएको बताए । पञ्चायतकालमा धर्म प्रचार गर्दा धार्मिक स्वतन्त्रतामा बन्देज लागेर धेरैले कारबाही भोग्नुपरेको भन्दै लोकतन्त्रको सबल पक्ष भनेकै सबैमा स्वतन्त्रता हुनु रहेको बताए ।

लोकतन्त्रपछि मठ, मन्दिर, गुम्बा, चर्च निर्माणमा तीव्रता आएको बताउँदै उनले धार्मिक स्वतन्त्रतामा अरूलाई होच्याएर विभेद गर्न नहुने बताए । आ–आफ्ना फरक आस्था र विश्वास बोकेका भएता पनि हामी सबै नेपाली भएकाले फरक आस्थाको कारणबाट आफ्नो देशप्रतिको माया र नागरिक दायित्वबोधमा कुनै तलमाथि गर्न नहुने उनले बताए ।

ख्रीष्टियन समुदायले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको माध्यमबाट मुलुकको विकास र समाजको अग्र गतिका लागि महत्वपूर्ण योगदान पुँ¥याउँदै आएको भन्दै मुख्यमन्त्री लामाले हामीले आ–आफ्ना आस्था, विश्वास र पहिचानलाई कायम राख्दै आम जनताको जीवनस्तरलाई माथि उठाउन सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीना कुमारी लामाले धर्ममा सबैको स्वतन्त्रता रहेको बताईन् । धार्मिक स्वतन्त्रताको नाममा अराजक व्यक्तिहरूले विभेदका घटनाहरू पैदा गरेको हुदा त्यस्तालाई कानुनी दायरमा ल्याउनुपर्नेमा जोड दिएकी थिइन् । उनले लोकतन्त्रपछि हाम्रो मुलुक सांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको बताईन् ।

राष्ट्रिय खिष्टियन महासङ्घ मकवानपुरका अध्यक्ष नवराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा घलानले फरक आस्था र विश्वास बोकेका आफ्ना नागरिकप्रति राज्यका तर्फबाट सम भाव र सम व्यवहार गरिदिन आग्रह गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button