हेटौंडा, बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडाको हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माण कार्य सुरु गरिएको छ। मंगलबार आयोजित एक विशेष कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गर्नुभयो।
शिलान्यास कार्यक्रमपछि बोल्दै मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दाहरू पनि प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रहरी कल्याणसँगै नागरिक सेवामा समेत अस्पताल उपयोगी हुने उल्लेख गर्नुभयो। कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्योललगायतको उपस्थिति रहेको थियो।
बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने अस्पताल निर्माणको पहिलो चरणमा बहिरङ्ग विभागको कक्ष, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिप बोरिङ, पार्किङसहितका संरचनाहरू निर्माण गरिने छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेट अन्तर्गत सुविधा सम्पन्न ३० शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको छ। पहिलो चरणमा १६ शय्याको अस्पताल भवन आगामी २०८३ पुस १८ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि कर सहित ८ करोड ३ लाख ७१ हजार ७३८ रुपैयाँमा सम्झौता भएको हो।
प्रदेश प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. प्रयास बिडारीका अनुसार पहिलो चरणको भवन निर्माण सम्पन्न भएपछि तत्काल अन्तरङ्ग र बहिरङ्ग सेवा एकैसाथ सञ्चालनमा ल्याइनेछ। हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौंडा–१५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीहरूलाई सीमित स्वास्थ्य सेवा दिँदै आएको छ।







