हेटौंडा, हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको चित्लाङ फुटबल क्लब र दोलखाको टाइगर टिम भिड्ने भएका छन् । बिहीबारको सेमिफाइनल खेलमा जित निकाल्दै काठमाडौंको चित्लाङ फुटबल क्लबले फाइनलमा स्थान बनाएको हो ।
यस्तै यसअघि बुधबारको खेलमा सिन्धुलीको ब्लु अल्पाइनबिरुद्ध जित निकाल्दै दोलखाको टाइगर टिम फाइनले प्रवेश गरिसकेको छ । फाइनमा स्थान बनाउँने क्रममा काठमाडौंले लालितपुरलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । काठमाडौंको जितको लागि यमन महजर्नले दुई तथा सुजित बुढाथोकीले एक गोल गरे । यस्तै, लालितपुरकोतर्फबाट रामकृष्ण चौधरीले एक सान्त्वना गोल फर्काए ।
पहिलो हाफमा १-१ को बराबरी भएको खेलमा काठमाडौंले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । दोस्रो हाफको सुरुवातमा पछि परेको ललितपुर सोपश्चात खेलमा फर्कन सकेन र हार व्यहोर्न बाध्य भयो । खेलको म्यान अफ द म्याच काठमाडौंका यमन महर्जन घोषित हुँदै तीन हजार नगदसहित ट्रफी प्राप्त गरे ।
प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाका ११ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले एक लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल पुस २० गते शनिवार हुनेछ ।








