हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० को आयोजनामा हेटौंडामा दोस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम एवम् शैक्षिक मेला २०८१ कार्यक्रम सुरु भएको छ । कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले स्वदेशी हस्तकला, कृषि उत्पादन प्रयोग र वितरण उद्यमशीलताका महत्वपूर्ण स्तम्भ रहेको बताए ।
उनले स्व–उत्पादन प्रयोगहरूले आत्मनिर्भरतालाई बलियो बनाउनुपर्ने भन्दै आन्तरिक उत्पादनमा अधिकतम खपत र निकासी गर्नुपर्नेमा जोड दिए । स्वेदशी सामाग्रीहरुको गुणस्तर र किफायती मुल्य कायम गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रा स्थानीय र स्वदेशी सामग्रीहरू कार्यालयको पहिरन वा व्यक्तिगत उपहार र सजावटमा प्रयोग गर्नुपर्छ । गुणस्तर र किफायती मूल्य कायम गर्नुपर्छ । आखिर, यो सुरु गर्ने तपाईं एक हुनुहुन्छ ।’ प्रदेश प्रमुख देवकोटाले स्थानीय तथा स्वदेशी कच्चा पदार्थलाई सकेसम्म प्रयोग गरी उत्पादनमा जोडेर बजारको खोजी र विस्तार गर्नुपर्ने बताए ।
सूचना प्रविधिलाई सकेसम्म प्रयोग गरेर फाइदा लिनुपर्ने बताउँदै उनले त्यसतर्फ राज्यका सबै निकाय सहयोगी बन्न जरुरी रहेको उल्लेख गरे । स्थान विशिष्ट र स्थानीय कच्चा पदार्थको आधारमा उत्पादन पकेट क्षेत्र घोषणा गरी आधारभूत पूर्वाधारसहित औद्योगिक ग्राम निर्माण गर्नुपर्ने उनको भनाई छ । साथै उनले यसो गर्दा लक्ष्य उन्मुख बाटोमा अघि बढ्दै समृद्धि हासिल गर्न सफल हुने बताए । हेटौंडा उपमहानगरपालिका १० नम्वर वडाध्यक्ष फुर्वादोर्जे लामाले १९ वटै वडाबाट लिइएको तालिम र सीपलाई सदुपयोग गर्दै साना उद्योग तथा लघु उद्यमीहरुलाई स्थानीय उत्पादित वस्तुहरुलाई प्रवद्र्धन र उत्पादित वस्तुलाई बजारिकरणमा सहयोग पुगोस् भनेर मेलाको आयोजना गरिएको बताए ।
मेलामा जातीय भेषभुषा, कला संस्कृति पहिचान भल्कने गरि नृत्य प्रतियोगिता समेत राखिएको वडाध्यक्ष लामाले बताए । प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितीयलाई ३५ हजार, तृतीयलाई २० हजार र सान्त्वना वापत चार समूहलाई पाँचरपाँच हजार रुपैयाँ प्रदान गरिने उनले बताए । मेलामा एक सय वटा स्टल रहने र स्टल शुल्क लाग्ने छैन्, अध्यक्ष लामाले भने । मेलामा वडा १० का संस्थागत र सामूदायिक विद्यालयका शैक्षिक प्रदर्शनी समेत हुनेछ ।






