हेटौंडा, तेस्रो मिस्टर मकवानपुर असोज १३ गते हेटौंडामा हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर हुन लागेको हो । मकवानपुर जिल्लाभित्रका शारीरिक सुगठनमा रुची भएका करिब ५० जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । आयोजक अध्यक्ष राजेश भेटवालका अनुसार प्रतियोगितामा करिब १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख, द्वितीय ५०, तृतीय ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न तौल समूहमा प्रथम हुनेलाई जनही नगद दश÷दश हजार रुपैयाँ तथा महिलाहरु एउटै समूहमा प्रतिस्पर्धा गराइने अध्यक्ष भेटवालले बताए । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा धेरै खेलाडी सहभागी गराउने क्लबलाई उत्कृष्टका रुपमा नगद २५ हजार रुपैयाँसहित सम्मानित गरिनेछ ।
‘प्रतियोगितामा राष्ट्रियस्तरका रेफ्रीबाट हामी निर्णय गर्नेछौं । बडिबिल्डिङमा चासो राख्ने युवाहरुलाई प्रेरणा होस् भनेर हामीले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका छौं ।’, भेटवालले कोभिडको कारण दुई वर्ष प्रतियोगिता रोकिएको बताए ।
प्रतियोगिताको समापन समारोहमा खेल, पत्रकारिता तथा शिक्षा क्षेत्रमा योगदान पु¥याउनेलाई एक÷एक जनालाई सम्मानित गरिने आयोजकको तयारी छ । स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाबाट आयोजकले सहयोग प्राप्त हुने अपेक्षा गरेको छ ।