हेटौंडा, २५औँ वर्षमा प्रवेश गरेको अवसरमा हेटौंडा–८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ ।
सहकारी स्थापनाको २५ वर्ष प्रवेशको अवसरमा फागुन ३ गतेदेखि ११ गतेसम्म सप्ताहव्यापी कार्यक्रमका साथ उत्सवको रुपमा रजत जयन्ती मनाउन लागिएको संस्थाका अध्यक्ष मोतिलाल लामाले जानकारी दिए । कार्यक्रम अन्तर्गत फागुन ३ गते प्रभातफेरी, फागुन ६ गते रक्तदान कार्यक्रम, फागुन ७ गते महिला पुरुष डोरी तान्ने प्रतियोगिता, ८ गते सरसफाइ कार्यक्रम, ९ गते बाल समूह हाजिरजवाफ प्रतियोगिता, ११ गते ५० जना गरिब तथा जेहन्दार विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरिने छ ।
फागुन १७ गते समापन तथा पुरस्कार वितरण गरिने अध्यक्ष लामाले बताए । हाजिरी जवाफ प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुनेलाई क्रमश: नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिनेछ। समापन कार्यक्रममा ५९ जना शेयर सदस्यलाई पनि सम्मान गरिने छ। रजत महोत्सव कार्यक्रमको लागि ३ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
१ हजार १७ जना शेयर सदस्य आबद्ध सहकारीको शेयर पुजी १ करोड ६ लाख, निक्षेप ३ करोड ६५ लाख र लगानी ६ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको व्यवस्थापन केशवकुमार शाही ठकुरीले जानकारी दिए। सहकारीले बचत संकलन गर्नुका साथै दैनिक २०० लिटर तोरीको तेल उत्पादन गरिरहेको छ।
पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष रमेश कुमार पौडेल, सचिव कृष्णबहादुर श्रेष्ठ, कोषाध्यक्ष ओमनाथ आचार्य र सदस्य कल्पना बिक लगायतको उपस्थिति रहेको थियो।






