द भ्वाइस अझ किड्स सिजन–५ मा हेटौंडाका आर्मन कार्की ब्याटल राउण्डमा प्रवेश

हेटौंडा, हेटौंडाका ११ वर्षीय आर्मन कार्कीले आफ्नो गायन प्रतिभामार्फत राष्ट्रिय स्तरको गायन रियालिटी शो द भ्वाइस अझ किड्स सिजन–५ मा सफलता हासिल गरेका छन्। ब्लाइन्ड राउण्ड सफलतापूर्वक पार गर्दै आर्मन हाल ब्याटल राउण्डमा प्रवेश गर्न सफल भएका छन्।

ADVERTISEMENT

सानै उमेरदेखि संगीतप्रति गहिरो रुचि राख्दै आएका आर्मन विभिन्न स्थानीयस्तरका सांगीतिक कार्यक्रमहरूमा गीत प्रस्तुत गर्दै आएका छन्। ब्लाइन्ड राउण्डमा उनले देशभक्तिपूर्ण गीत ‘वीरताको चिनो वीरको सन्तान’ प्रस्तुत गरेका थिए। उनको प्रभावशाली प्रस्तुतिले चार कोचमध्ये दुई कोच मिलन नेवार र अर्जुन सापकोटाको कुर्सी फर्काउन सफल भएको थियो। त्यसपछि उनले आफ्नो यात्राका लागि टिम अर्जुन रोजेका छन्।

आर्मनले आफ्ना बाबालाई नै आफ्नो प्रेरणाको स्रोत तथा आदर्श व्यक्तिका रूपमा मान्ने गरेका छन्। बाबाकै प्रेरणाले आफू संगीत क्षेत्रमा आएको बताउँदै उनले भविष्यमा संगीतलाई नै आफ्नो करिअर बनाउने र एक सफल तथा असल गायक बन्ने लक्ष्य राखेको बताएका छन्। विशेषगरी उनलाई शास्त्रीय संगीतप्रति विशेष रुचि रहेको र सोही विधामा आफूलाई अझ निखार्दै लैजाने इच्छा रहेको छ।

रोचक पक्ष के छ भने ब्लाइन्ड राउण्डमा आर्मनकी ५ वर्षीया बहिनी पनि सहभागी भएकी थिइन्। उनले अर्को चरणमा स्थान बनाउन नसके पनि आफ्नो प्रस्तुतीमार्फत कोचहरू र दर्शकहरूको मन जित्न सफल भएको परिवारको भनाइ छ।

गायनमा मात्र नभई आर्मन चित्रकला तथा विभिन्न सांगीतिक वाद्ययन्त्र बजाउन पनि उत्तिकै रुचि र क्षमता राख्छन्।

आर्मनका पिता शिक्षक तथा आमा नर्स हुन्। आफ्ना छोराछोरीको संगीतप्रतिको लगाव र मेहनत देखेर आफूहरू निकै खुसी भएको आर्मनका अभिभावक रमेश कार्की र मनिता बानियाँ कार्कीले बताएका छन्। आगामी चरणहरूमा पनि आफ्नो उत्कृष्ट प्रस्तुतीमार्फत कोच र दर्शकको मन जित्ने प्रतिबद्धता आर्मनले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *