फागुन १५ गते विद्यालय स्तरीय खुल्ला एकल गायन प्रतियोगिता हुने

हेटौंडा, यस वर्षपनि गायक तथा सङ्गीतकार भीम विरागको स्मृतिमा तेस्रो अन्तर विद्यालय स्तरीय खुल्ला एकल गायन प्रतियोगिता हुने भएको छ । हेटौंडा ५ मा रहेको ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा बालबालिकामा रहेका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले फागुन १५ गते प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रिन्सिपल श्यामकुमार बानियाँले जानकारी दिए।

ADVERTISEMENT

प्रतियोगितामा सहभागी हुन फागुन १० गतेभित्र नाम दर्ता गराइसक्नु पर्ने छ। प्रतियोगिताको लागि दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ विद्यालयले तोकेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ भने एक जनालाई प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रिन्सिपल बानियाँले बताए ।

प्रतियोगिताका कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । संगीतकार एवं संगीत प्रशिक्षक चण्डी प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम हुनेछ । फागुन १५ गते विद्यालयको प्राङ्गणमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा खाना महोत्सव पनि सञ्चालन हुनेछ । गायन प्रतियोगिताको लागि २ लाख खर्च हुने विद्यालयले जनाएको छ । गत वर्ष भएको दोस्रो संस्करणको गायन प्रतियोगितामा हेटौंडाका १९ वटा विद्यालयका ३४ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा जेनिथ विद्यालयकी विशाखा पण्डित प्रथम भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *