हेटौँडा, पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनको माग गर्दै पत्रकार महासंघ मकवानपुरले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा गएको टोलीले आयोगको कार्यालयमा पुगेर स्वर्गीय पत्रकार रजकको हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै ध्यानाकर्षण गराएको हो ।
महासंघ मकवानपुरले आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई हत्याका विषयमा छानबिन माग गरेको महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले जानकारी दिए । ध्यानाकर्षण पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुनेगरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासङ्घले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भएदेखि नै निष्पक्ष छानबिन गरिरहेको बताए । आयोगले चैत १५ को घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उनको भनाई छ । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उनले बताए । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको निमित्त प्रमुख भट्टले बताए । नेपाल पत्रकार महासंघको केन्द्रिय समितिको सर्कुलर बमोजिम जिल्ला शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो ।
