हेटौंडा, यही बैशाख १९ गतेबाट हेटौँडामा सातौँ स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिता हुने भएको छ । अघिल्लो संस्करणहरुमा पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको मकवानपुर जिल्ला फुटबल संघले सातौं संस्करण भने राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिताका रुपमा अगाडि बढाउन लागेको शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।
हेटौँडाको गौरीटार रंगशालामा हुने प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको (एपिएफ)सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरि ८ वटा क्लवले सहभागिता जनाउने फुटबल संघ मकवानपुरका सचिव छवी सुवेदीले जानकारी दिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्बोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।
संघले छैटौं संस्करणको गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण पनि शनिबार सार्वजनिक गरेको छ । प्रतियोगिता सकिएको १५ महिनापछि छैठौ स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष अमृत लुङबाले फुटबल प्रतियोगिता आर्थिक रुपमा घाटा भएको जानकारी दिए । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख गरिएको छ ।
प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको कोषाध्यष लुङबाले बताए । २०८० माघ १६ गतेदेखि २७ गतेसम्म भएको प्रतियोगिताको फाइनलमा एनआरटीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको थियो । पत्रकार सम्मेलनमा विगत ६ वर्षदेखि पुरुष तर्फ गोल्डकप गर्दै आएको संघले यसवर्ष देखि महिला गोल्डकप प्रतियोगिता आयोजना गर्न लागेको हो ।






