हेटौँडा, बागमती प्रदेश सरकारले प्रदेशभरका उत्कृष्ट १४ उद्यमीलाई सम्मान गरेको छ । १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मानका अवसरमा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विभिन्न जिल्लाका उत्कृष्ट उद्यमीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको आयोजनामा उद्योग, कृषि तथा पशुपन्छीपालन, खाद्य उत्पादन, हस्तकला, पर्यटनलगायतका क्षेत्रमा योगदान पुर्याएका एक सर्वोत्कृष्टसहित १४ वटा फर्म तथा संस्थालाई सम्मान गरिएको हो ।
सर्वोउत्कृष्ट सम्मान प्राप्त गर्नेमा ललितपुरको अन्नपूर्ण खाद्य उद्योग रहेको छ । यसैगरी रामेछापको पुष्पाञ्जली नेपाली हातेकागज उद्योग, सिन्धुपाल्चोकको अरनिको कृषि तथा पशुपन्छीपालन फार्म, सिन्धुलीको लक्ष्मावती चुर उद्योग, काठमाडौंको सौगात आधुनिक कृषि फार्म, नुवाकोटको सानो कलेजी कृषि फार्म, मकवानपुरको शर्मा एकीकृत कृषि तथा पशुपन्छी फार्म, ललितपुरको दाहाल कार्पेट उद्योग, चितवनको फोटोकियर इन्टरनेसनल प्रालिले उत्कृष्ट सम्मान प्राप्त गरेका छन् । यसैगरी, काभ्रेपलाञ्चोक, भक्तपुर, धादिङ, दोलखा र रसुवाका उद्यमी तथा उद्योगहरू पनि सम्मानित भएका छन् ।







