हेटौंडा, विद्यार्थीमा पठन संस्कृतिको विकासको उद्देश्य सहित आज शुक्रबारबाट हेटौंडामा बाल साहित्य महोत्सव सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेण्ट र काठमाडौं पब्लिकेसनले बाल साहित्य महोत्सवको आयोजनामा गर्न लागेको हो ।
दुईदिन सम्म सञ्चालन हुने महोत्सवमा शुक्रबार १२ वटा विविध विषयमा फरक व्यक्तिले सहजीकरण गर्ने गरी कार्यशाला सञ्चालन हुने महोत्सवका संयोजक सीएम रिमालले जानकारी दिए । दुईदिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न सेसन सहित प्यानल डिस्कसन समेत हुनेछ । नवोदयले यसअघि दुई पटक बाल साहित्य महोत्सवको आयोजना गरिसकेको छ । यस पटकको महोत्सवमा भारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहनेछ । भारत र पाकिस्तानमा बाल साहित्यको प्रवद्र्धनमा भएका अभ्यास र नेपालको अभ्यासबीच तुलनात्मक अध्ययन तथा अन्तरक्रियाका लागि छिमेकी मुलुबाट समेत सहभागी गराउन खोजिएको नवोदय शिशु सदनका निर्देशक दिपेश जोशीले बताए । नेपाली लेखक अनुराधामार्फत मिश्र र हुसेन हेटौंडा आउन लागेका हुन् ।
भारतीय लेखक मिश्र वृत्तचित्र निर्देशक र पाकिस्तानी हुसेन कलाकार तथा शिक्षाविद् हुन् । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागी हुने विद्यार्थीमा कला साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि हुने आयोजकको विश्वास छ । कला, साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउनुका साथै नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जना गर्न महोत्सवलाई निरन्तरता दिइएको जोशीले बताए । दुईदिन हुने महोत्सवमा तीन हजार पाँच सय बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थिती रहने कार्यक्रमका संयोजक सीएम रिमालले जानकारी दिए ।
महोत्सवमा करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । विद्यार्थी, अभिभावक, पत्रकार र अन्य सरोकारवाला निकायलाई महोत्सव अवलोकन गरिदिनु हुन विद्यालयले अनुरोध गरेको छ ।