कैलाश, कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४ र ७ का ९९ घरधुरीलाई सुधारिएको धुँवारहित चुलो वितरण गरिएको छ। सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीहरूलाई चुलो हस्तान्तरण गरे।
स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील सांग्रिला डेभलपमेन्ट एशोसिएसनले घरधुरी सर्वेक्षण गरेर छनोटमा परेका ९९ घरलाई चुलो प्रदान गरेको हो। कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुधारिएको चुलो वातावरणमैत्री र स्वास्थ्यमैत्री रहेको उल्लेख गरे। “घरमा रहेका साना बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्यमा धुँवाले असर गरिरहेको अवस्थामा यी चुलोहरूले राहत दिनेछन्,” उनले भने, “चुलो लगेर राख्ने मात्रै होइन, प्रयोग गर्न पनि नबिर्सिनुहोस्।” मुक्तानका अनुसार अहिले केही घरहरूमा ग्यास चुलो प्रयोग भइरहे पनि धेरैजसो ठाउँमा अझै दाउरा नै प्रयोग हुँदै आएको छ, र सुधारिएको चुलोले दाउरा खपत घटाउन मद्दत पुर्याउनेछ।
गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले सांग्रिलाले स्वास्थ्य र शिक्षामा निकै लगानी गर्दै आएको बताए। “आफ्नो मर्म र भावना आत्मसात् गर्दै गरिरहनुभएको काममा गाउँपालिकाले निरन्तर साथ दिनेछ,” मल्लले बताए। उनले स्थानीयवासीलाई चुलोको अधिकतम उपयोग गरेर लाभ लिन आग्रह गरे।
सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसदन राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, वडा नम्बर ४ का वडा सदस्य नमराज चेपाङ, कटुञ्जे स्वास्थ्य चौकी प्रमुख आशाकुमारी गुरुङलगायतको उपस्थिति थियो।
संयोजक राउतका अनुसार स्वास्थ्य परियोजनाअन्तर्गत वितरण गरिएका यी चुलोहरू लाभग्राहीहरूको घरमा प्राविधिकहरूले जडान गर्नेछन्। “हामीले पाँच जना प्राविधिकलाई तालिम दिएका छौं, उनीहरूले नै चुलो जडान गर्ने र प्रयोगबारे जानकारी दिनेछन्,” राउतले बताए। चुलोको प्रयोगले दाउराको खपत घट्ने र धुँवाका कारण हुने स्वास्थ्य समस्याबाट बच्न सकिने उनले बताए। एशोसिएसनले गाउँपालिकासँग समन्वयमा विभिन्न स्वास्थ्य र शिक्षा क्षेत्रका परियोजना सञ्चालन गर्दै आएको छ।







