हेटौँडा, विश्व वातावरण दिवस २०८२ को अवसरमा हेटौँडा उपमहानगरपालिका अन्तर्गत टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ।
कार्यक्रमको पहिलो दिन आज टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा–२ को व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि बाँनियाले भने, ‘रक्तदान जीवनदान हो। वातावरण दिवसको सन्देशलाई मानव सेवासँग जोड्नु अत्यन्त सराहनीय छ। यस्तो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ।’
कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष विष्णु गोपाल महर्जन, वडा नम्वर १० का अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौँडा उपमहानगरपालिकाका निर्देशक डा. भिमप्रसाद तिमल्सिना, समुदाय परिचालन शाखा प्रमुख गंगा चौलागाईलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वातावरण संरक्षण, जनचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले विविध कार्यक्रमहरू सञ्चालन गरिने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीले जानकारी दिए।







