हेटौँडा, विश्व वातावरण दिवसको अवसरमा हेटौँडामा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाले विहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी कार्यक्रममा गरिने कार्यक्रमको बारेमा जानकारी दिइएको हो ।
‘प्लाष्टिक प्रदुषण नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ ५३ औँ विश्व वातावरण दिवसमा गतवर्षझैँ यसवर्ष पनि सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेठ १६ गते हेटौँडा उपमहानगरपालिकाको प्राङ्गणमा रक्तदान कार्यक्रम, जेठ १७ गते सफा हेटौँडा अभियान अन्तर्गत टोल विकास संस्थाहरूमा वृहत सरसफाई कार्यक्रम, जेठ १८ गते वन विज्ञान अध्ययन संस्थानमा हेटौँडाका सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगिता हुनेछ ।
यसैगरी जेठ १८ गते बालबालिकालाई प्रकृतिसँग जोड्नका निम्ति प्रकृति सम्वाद यात्रा २०८२, जेठ १९ गते हेटौँडा औद्योगिक क्षेत्र खेल मैदानमा बोतल देउ, विरुवा लिउ कार्यक्रम, जेठ २० गते जलवायु सचेतनाः समस्या र समाधानमा समुदायको भुमिका र हाम्रो प्रयास (प्यानस डिस्कसन, फिल्म स्क्रिनिङ्ग), जेठ २० गते चन्द्रोदय मा.वि.मा वृक्षारोपण कार्यक्रम, जेठ २१ गते विद्यालय स्तरीय खेल गएका वस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा, जेठ २१ गते यदि म हेटौँडाको मेयर भए भने मेरो सहरलाई कसरी सफा र प्लाष्टिक रहित बनाउँछु ? भन्ने विषयक भिडियो प्रतियोगिता र जेठ २२ गते वातावरणीय सचेतना मुलक र्याली, सम्मान, पुरस्कार वितरण तथा सप्ताहव्यापी कार्यक्रम समापन हुने उनले बताए ।
हरेक प्रतियोगितामा प्रथम,, दोस्रो, तेस्रो हुनेलाई क्रमशः नगद १० हजार, ७ हजार ५ सय, ५ हजार रुपैयाँ प्रदान गरिने छ भने सान्त्वना दुईजनालाई नगद २ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । विश्व वातावरण दिवसमा आयोजित बोतल देउ, विरुवा लिउ कार्यक्रममा ५ वटा बोतल बराबर १ वटा विरुवा वितरण गर्ने उनले बताए । जेठ २२ गते हुने सचेतना मुलक ¥यालीमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टोल विकास संस्थालाई नगद १५ हजार रुपैयाँ, ७ हजार ५ सय रुपैयाँ, ५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने छ । सप्ताहव्यापी कार्यक्रमको लागि ६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष सति न्यौपाने, उपमहासचिव देवकुमार श्रेष्ठलगायत टोलविकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।






