हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ कार्यालयको आयोजनामा भएको दोस्रो खेलकुद महोत्सवमा विजयी भएका विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । वडाको आयोजनामा वडास्तरीय तथा नगरस्तरीय विविध प्रतियोगिताहरू एक महिनासम्म सञ्चालन भएको थियो।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य रहेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्तरीय खेलकुद प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । समग्रमा एथ्लेटिक्स विद्यातर्फ भुटनदेवी विद्यालयले प्रथम, दोस्रो र तेस्रो स्थानमा क्रमशः समान ८ अंक हासिल गर्दै प्रथम भएको हो । हेटौंडा–४ मा रहेका विद्यालयको व्यवस्थापनमा भएको नगरस्तरीय खेलकुद प्रतियोगितामा विजयी भएको विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । जसअन्तर्गत क्रिकेट, भलिबल, फुटबल र बास्केटबल खेल सञ्चालन भएको थियो ।
आज भएको पुरस्कार वितरण कार्यक्रममा हेटौंडा–४ मा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक झल्किने नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको सहभागितामा दोस्रो खेलकुद महोत्सव भएको हो । यसैगरी फागुन ९ र १० गते शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा शिक्षक भलिबल प्रतियोगिता आयोजना हुने संयोजक दहालले जानकारी दिए।
पुरस्कार वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देल, हेटौंडा ११ वडाध्यक्ष जुना दाहाल, हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान, मकवानपुर बहुमुखी क्याम्पसका प्रिन्सिपल यम सिल्वाल, हेटौंडा क्याम्पसका कोषाध्यक्ष नमुना पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।
पत्रकार पराजुली र थापा सम्मानित
खेलकुद महोत्सवका गतिविधिहरू प्रकाशन तथा प्रसारण गरी योगदान पुर्याएको भन्दै पत्रकारद्वय अनिल पराजुली र रोहित थापालाई सम्मान गरेको छ।
शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहाल र वडाध्यक्ष नवीन सिग्देलले पत्रकारद्वय पराजुली र थापालाई नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो






