कैलाश, मकवानपुरको कैलाश गाउँपालिका–४, ज्यान्द्रुङमा वर्थिङ्ग सेन्टर तथा ओटिसी (कम्प्लिकेटेड कुपोषण उपचार केन्द्र) सेन्टर उद्घाटन गरिएको छ। वडावडामा स्वास्थ्य चौकीसहित वर्थिङ्ग सेन्टर सञ्चालन गर्दै होम डेलिभरीको अन्त्य गर्ने लक्ष्यसहित सो सेवा शुभारम्भ गरिएको हो।
शनिबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त सेन्टरको उद्घाटन गरेका थिए। उनले उद्घाटन समारोहमा बोल्दै भने, “आमा र नवजात शिशुको सुरक्षित स्वास्थ्य र होम डेलिभरीको अन्त्यका लागि वर्थिङ्ग सेन्टरको स्थापना गरिएको हो।” उनले आगामी वर्षभित्र कैलाश गाउँपालिकाका सबै वडामा वर्थिङ्ग सेन्टर स्थापना गरिने जानकारी दिए।
अध्यक्ष मुक्तानले गर्भवती महिलालाई कम्तीमा आठ पटक स्वास्थ्य जाँच गर्न आग्रह गर्दै वर्थिङ्ग सेन्टरको सेवाबाट मातृ तथा शिशु मृत्युदर घटाउने विश्वास व्यक्त गरे। “स्वास्थ्यकर्मीको हेरचाहमा सुत्केरी गराउँदा जोखिम न्यून हुन्छ,” उनले जोड दिए।
उनका अनुसार प्रत्येक वडामा सञ्चालित आमा सुरक्षा तथा पोषण कार्यक्रमसँग वर्थिङ्ग सेन्टरले थप टेवा पुर्याउनेछ। “भौगोलिक विकटताका कारण होम डेलिभरीको संख्या बढेको हो। यसलाई ‘जिरो’ बनाउनेतर्फ लाग्नुपर्छ,” उनले स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई महत्वपूर्ण बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले वर्थिङ्ग सेन्टर स्थापना मात्र पर्याप्त नहुने भन्दै आमाले यसबाट सेवा लिनुपर्नेमा जोड दिए। “घरमा भन्दा सेन्टरमै सुरक्षित सुत्केरी सेवा लिनु राम्रो हुन्छ,” उनले भने। गाउँपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आएको जानकारी उनले दिए।
वडा नं. ४ का वडाध्यक्ष तीलकबहादुर मुक्तानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। वडाध्यक्ष मुक्तानले भने, “डोकोमा घण्टौं हिंड्ने दिन अब गए। गाउँमै सुरक्षित सुत्केरी सेवा उपलब्ध भएको छ।” उनले वर्थिङ्ग सेन्टरमा २४ सै घण्टा स्वास्थ्यकर्मी उपलब्ध हुने जानकारी दिँदै सबै गर्भवती आमालाई सेवा लिन आग्रह गरे। वर्थिङ्ग सेन्टरसँगै गम्भीर कुपोषण भएका बालबालिकाको उपचारका लागि ओटिसी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ।
जग्गा अभावका कारण वर्थिङ्ग सेन्टर निर्माणमा ढिलाइ भएको भए पनि स्थानीय कर्णबहादुर थिङले तीन रोपनी जग्गा दान गरेपछि १३ लाख रुपैयाँको लागतमा सेन्टर निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले जानकारी दिए। गोपेघारी, देउतीस, धुस्राङ, देउराली, लिच्चे क्षेत्रका स्थानीयले सो सेन्टरबाट सेवा लिन सक्ने छन्।
उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष देवलाल बल, वडा सदस्यहरु सम्झना गोले, नेमराज चेपाङ, रवीन्द्र सिन्तान, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव, प्रेम सेवा समाजका लेखा प्रमुख विष्णु गुरुङ, स्वास्थ्य सहजकर्ता मार्था फ्युवा, प्रहरी चौकी भार्ताका प्रमुख प्रकाश घिमिरे, वडा सचिव अशोक शर्मा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जग्गादाता कर्णबहादुर थिङलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।







