खेल पत्रकार बिक्रम बानियाँ राष्ट्रिय प्रोत्साहन पुरस्कारबाट सम्मानित

हेटौंडा, हेटौंडामा रहेर लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय बिक्रम बानियाँलाई राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। संघीय सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बागमती प्रदेशका बानियाँ यस वर्ष सम्मानित भएका हुन्। उनलाई सोमबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मानित गरे।

ADVERTISEMENT

हाल गोलनेपाल डटकमसँग आबद्ध बानियाँ सह–सम्पादक तथा बागमती प्रदेश ब्युरो प्रमुखका रूपमा कार्यरत छन्। विशेषगरी फुटबल प्रतियोगिताको प्रत्यक्ष रिपोर्टिङमा सक्रिय रहेका बानियाँले पछिल्लो एक दशकदेखि निरन्तर खेल पत्रकारितामा योगदान दिँदै आएका छन्। खेल पत्रकारिता सुरु गर्नु अघि उनी आफैं एक कुशल फुटबल खेलाडी थिए। मकवानपुरको स्थानीय लिगदेखि काठमाडौंको शीर्षस्तरीय ए डिभिजन लिगसम्म उनले लामो समय खेलेका थिए। चर्चित क्लब सरस्वती युथ क्लबका लागि उनी डिफेन्डरको भूमिकामा मैदानमा उत्रने गर्थे।

पत्रकारिताको क्रममा बानियाँले देशका विभिन्न जिल्लामा रिपोर्टिङ भ्रमण गरेका छन् भने विदेशमा समेत नेपाली फुटबलको प्रतिनिधित्व गर्दै रिपोर्टिङ गरेका छन्। सन् २०२३ मा साउदी अरेबियामा आयोजित फिफा क्लब विश्वकपमा गोलनेपालको तर्फबाट सहभागिता जनाएका उनी हाल क्षेत्रीय पत्रकारिता क्षेत्रमा उदाहरणीय नामका रूपमा चिनिन्छन्।
खेलकुद मन्त्रालयले गठन गरेको मूल्यांकन समितिको निर्णयअनुसार देशभरका १० जना खेलकुद पत्रकारलाई यसपटक प्रोत्साहन पुरस्कार प्रदान गरिएकोमा बागमती प्रदेशबाट बिक्रम बानियाँ समेत चयन भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *