हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार सार्वजनिक स्थलमै हातपात भएको छ। हेटौँडा क्याम्पस अगाडिबाट हुप्रचौरतर्फ जाने सडक विस्तारको विषयमा विवाद भइरहेका बेला काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी मञ्जु लामाले वडाध्यक्ष सिग्देलमाथि हातपात गरेकी हुन्।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडक मर्मतको काममा सहजीकरण गरिरहेका बेला निर्माणको ढिलासुस्तीबारे छलफल भइरहेकै क्रममा विवाद उत्पन्न भएको वडाध्यक्ष सिग्देलले बताएका छन्। उनका अनुसार मञ्जु लामाले सडकमा भइरहेको कामको भिडियो खिच्न खोजेकी थिइन्। बारम्बार रोक्दा पनि नमानेपछि मोबाइल हटाउने क्रममा झगडा उत्पन्न भएको र त्यसपछि आफूमाथि आक्रमण गरिएको उनले बताएका छन्। घटनापछि लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ भने अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।
घटनापछि वडा नम्बर ४ को कार्यालयले शुक्रबारका लागि तय गरिएका सबै कार्यक्रमहरू स्थगित गरेको छ। साथै, हेटौंडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि बारम्बार भइरहेका आक्रमणको विरोधमा शुक्रबार एक दिन सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। नगर प्रमुख मीनाकुमारी लामाले वडाध्यक्षहरूको सुरक्षामा गम्भीर चुनौती देखिएको बताउँदै दोषीलाई कानुनी दायरामा ल्याइएन भने आन्दोलन चर्काउने चेतावनी दिएकी छन्। उनले यसअघि असार ४ गते वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणमा संलग्नहरू अझै पक्राउ नपरेकोप्रति पनि गम्भीर आपत्ति जनाएकी छन्। न्यौपानेमाथि आक्रमणका दोषीहरूलाई कारबाही नगरेकै कारण वडाध्यक्ष सिग्देलमाथि पुनः आक्रमण भएको भन्दै नगर प्रमुख लामाले राज्यप्रति गुनासो गरेकी छन्। उनले जनप्रतिनिधिको सुरक्षामा सरकार गम्भीर नबने हालका घटनाहरू दोहोरिइरहने स्पष्ट संकेत भएको बताउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन्।







