हेटौंडा, ग्यास बिक्रेताले डिलर कमिसन बढाउन माग गरेका छन्। शनिबार हेटौंडामा भएको ग्याँस विक्रेता महासंघ नेपालको बागमती प्रदेशको पाचौँ अधिवेशन कार्यक्रममा वक्ताहरुले अहिले दिँदै आएको कमिसनले व्यवसाय धान्न कठिन भएको भन्दै कमिसन बढाएर पाँच प्रतिशत पु¥याउन माग गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका ग्याँस बिक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर थापाले बिक्रेताको कमिसन ग्याँसको मूल्यबाट ५ प्रतिशत तोकिनुपर्ने बताएका छन् । कार्यक्रममा ग्याँस बिक्रेता महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलाले मापदण्ड विपरित उद्योगीहरुले ठूलो सिलिण्डर सञ्चालन गरेको जनाउँदै उत्पादन तथा विक्री वितरण रोक्न आग्रह गरेका छन् । ग्याँस विक्रेता महासंघले विक्रेताको कमिसन ग्याँसको मूल्याबाट ५ प्रतिशत हुनुपर्ने मुद्दा विगत वर्षदेखिबाट उठाएपनि सुनुवाई नभएकोमा गुनासो पोखे । कमिसन नबढाइ व्यवसाय धान्नै मुस्किल परेको उनले बताए । ठूलो सिलिण्डर मापदण्ड बाहिर रहेकोले उद्योगीहरुले ठूलो सिलिण्डर बजारमा भित्र्याइरहेको उनले बताए ।
कार्यक्रममा ग्यास विक्रेता महासंघका उपाध्यक्ष गेहेन्द्रप्रसाद रिजालले ग्यास व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाले विकराल अवस्था सिर्जना भएको बताए । बागमती प्रदेशका १३ जिल्ला मध्ये ५ जिल्लामा मात्र महासंघ चलायमान भएकोले गर्दा अन्य जिल्लामा पनि क्रियाशिल हुन आग्रह गरे । कार्यक्रममा महासंघका सहकोषाध्यक्ष राधिका महर्जनले ग्यास व्यवसायीहरु जीविकोपार्जन गर्न पनि निकै कठिनाइ भएकोमा जोड दिईएकी थिइन् । काठमाडौँ जिल्ला संघका अध्यक्ष शेषकान्त भण्डारीले डिलर दिदाखेरी तालिमको व्यवस्था हुनुपर्नेमा कुरामा जोड दिए । काठमाडौं जिल्ला संघका उपाध्यक्ष ओमकार बोहराले सरकारले अनुमति नदिएको ग्यास सिलिण्डर बन्द गर्न उनले उद्योगीलाई आग्रह गरेका छन् ।
ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशका महासचिव केशव मुडभरीले व्यवसायीलाई जोगाउनको निम्ति कमिसन वृद्धि, डिलर प्रमाणिकरणलगायतको एजेण्डालाई महासंघले अगाडि सार्नुपर्ने बताए । कार्यक्रममा बागमती प्रदेश महासंघका कोषाध्यक्ष मदन न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कमिसनले घरभाडा लगायतका खर्च धान्न कठिनाई भएको र सरकारलाई भ्याट पनि बुझाउनुपर्ने अवस्था भएकोले गर्दा व्यवसायीहरु पलायन भएको उनले बताए ।
ग्याँस बिक्रेता महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष बिनोदमान श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा ग्याँस बिक्रेता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष शैलेन्द्र प्रसाद रिजाल, अध्यक्ष सल्लाहकार महेश्वर प्रसाद घिमिरे, केन्द्रीय सल्लाहकार अर्जुन खत्रीलगायतको आतिथ्यता रहेको थियो ।






