हेटौंडा, गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको सिमखोलाको पुल पुनःनिर्माणका लागि बेलिब्रिज जडान सुरु गरिएको छ। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको समन्वयमा बेलिब्रिज जडानको काम आइतबारदेखि सुरु भएको हो। यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहका अनुसार दक्ष जनशक्ति र आवश्यक उपकरण प्रयोग गरेर तीव्र गतिमा काम भइरहेको छ।
‘बेलिब्रिज जडान गर्न करिब एक साता लाग्नेछ,’ प्रमुख सिंहले भने, ‘पुलमार्फत सवारीसाधन सञ्चालनमा आउन थप एक साता लाग्न सक्छ।’ सिमखोलामा अवस्थित ड्याममुनिको मूलपुलसँगै दायाँबायाँको पहुँचमार्ग पनि बगाएपछि वैकल्पिक रूपमा बेलिब्रिज राखिने भएको हो। उक्त ठाउँमा ६० मिटर लामो बेलिब्रिज आवश्यक पर्ने भएकाले भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर र मान्डुखोलामा रहेको ५० मिटर बेलिब्रिज झिकेर ल्याइएको सिंहले जानकारी दिए।
बेलिब्रिज जडान, पक्की पहुँचमार्ग निर्माण तथा आसपासको क्षतिग्रस्त सडक मर्मतका लागि गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का पाएको छ।
भारी वर्षासँगै कुलेखानी जलाशय भरिएपछि ओभरफ्लो रोक्न ड्यामको गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलाको पुल र सडक पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। हाल उक्त स्थानमा खोलाबाट डाइभर्सन तयार गरी सवारी आवागमन सञ्चालन गरिएको छ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार साउन पहिलो साताभित्र बेलिब्रिज जडान गरी स्थायी आवागमन व्यवस्था मिलाउने लक्ष्यका साथ काम अगाडि बढाइएको छ।






