कुन्छाल घटनाः भाउजुको हत्या अभियोगमा देवर थुनामा

हेटौँडा, थाहा नगरपालिका–१ कुन्छालमा भएको एक पारिवारिक घटनाले गाउँलाई अहिले पनि स्तब्ध बनाइरहेको छ। भाउजु ५० वर्षीया तुलुमाया गोपालीको हत्या आरोपमा पक्राउ परेका देवर ३५ वर्षीय विमलमान गोपालीलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

ADVERTISEMENT

जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले मंगलबार दिएको आदेश अनुसार, अनुसन्धान नसकिन्जेल विमलमानलाई थुनामा राखिने भएको हो। उनलाई केही दिनअघि पक्राउ गरिएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार, घटनाको जरा झण्डै एक वर्ष पुरानो पारिवारिक विवादमा रहेको देखिएको छ। तुलुमायाले देवरलाई लागुऔषध सेवन र मद्यपानबाट टाढा रहन बारम्बार सम्झाउँदै आएकी थिइन्। यही विषयले गर्दा उनीहरूबीच बोलचाल बन्द भएको थियो। एउटै घरमा भए पनि चुलो छुट्टै थियो र सम्बन्ध चिसिएको थियो।

ADVERTISEMENT

घटना असार ५ गते बिहान घरको आँगनमा भएको थियो। बिहान बाहिर निस्किएकी तुलुमायामाथि देवर विमलमानले अचानक खुकुरी प्रहार गरेका थिए। गर्धनमा लागेको गम्भीर चोटका कारण घटनास्थलमै उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पालुङ, थाना बजारले घटनापछि विमलमानलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनामा प्रयोग गरिएको खुकुरी समेत बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *