बागमती गाउँपालिकामा एकदिवसीय मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा, मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा एकदिवसीय मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न भएको छ। आइतबार गाउँपालिका–६ ठाडीखोलास्थित सिता आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो। नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

ADVERTISEMENT

कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्वागत मन्तव्य व्यक्त गरेका थिए। संस्थापक अध्यक्ष दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रम संयोजक शर्मिला श्रेष्ठले मानव अधिकारबारे जनचेतना अभिवृद्धि गरी नागरिकलाई आफ्ना अधिकारप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। कार्यक्रममा प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कार्यकारी निर्देशक शान्ति लामा, वडा सदस्य सीता बिक, विद्यालयका प्रधानाध्यापक राजकुमार आले, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर थिङ, रेडक्रस सभापति शङ्कर पराजुली लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले मानव अधिकारसँगै कर्तव्य र नैतिकतालाई पनि समान रूपमा महत्व दिनुपर्ने बताइन्।

उनले नैतिकता बिर्सेर अधिकार मात्रै खोज्नु उचित नहुने उल्लेख गर्दै सकारात्मक सोचका साथ जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राखिन्। बस्नेतले मानव अधिकारसम्बन्धी प्रस्तुतीकरण दिँदै मानव जातिको अधिकार, कर्तव्य, नागरिक अधिकार तथा अधिकारका आधारभूत पक्ष र विशेषताबारे जानकारी गराएकी थिइन्। त्यसैगरी अधिवक्ता पम्फा पुरीले मानव अधिकारसम्बन्धी कानुनी प्रक्रियाबारे जानकारी दिँदै मानव अधिकार हनन, पीडित र पीडकको परिभाषा, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार, सार्वजनिक अपराध तथा कानुनी प्रावधानबारे प्रस्तुतीकरण दिइन्। उनले पछिल्लो समय बालविवाह गरेका २३ देखि २८ वर्ष उमेर समूहका दम्पतीहरू सम्बन्धविच्छेदका लागि आउने क्रम बढेको जानकारी समेत दिइन्।

कार्यक्रममा मकवानपुर रिकभरिङ सेन्टरका सदस्य अशेष थापाले लागुऔषध दुर्व्यसनसम्बन्धी प्रस्तुतीकरण दिएका थिए। उनले लागुऔषध सेवनका लक्षण, त्यसबाट हुने असर, अभिभावकको भूमिका, प्रयोगकर्ताको पहिचान तथा बागमती प्रदेशमा लागुऔषधको अवस्थाबारे जानकारी गराएका थिए। साथै नेपालमा हुने करिब ७० प्रतिशत अपराध तथा घटनामा लागुऔषधको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहेको दाबी पनि उनले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya