हेटौँडा, हेटौँडा–११ मा रहेको दुईबस्ती पिउनेपानी व्यवस्थापन समितिको अध्यक्षमा पुनः देवकुमार श्रेष्ठ चयन भएका छन्। आज सम्पन्न समितिको ११औँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा सुभद्रा रिमाल, सचिवमा कृष्णप्रसाद खनाल, सह–सचिवमा पार्वती देवकोटा तथा कोषाध्यक्षमा महेन्द्र पाण्डे चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रामचन्द्र कठायत, लक्ष्मण बानियाँ, सुधा पुडासैनी, शिवप्रसाद अगस्ती, माधुरी राना र पुष्पराज मगर रहेका छन्। समितिका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा–११ की वडाध्यक्ष जुना दाहाल प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
३०१ घरधुरी उपभोक्ता रहेको यस समितिले खानेपानी क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै पूर्व वडाध्यक्ष काशीनाथ बजगाईलाई मरोणापन्त सम्मान अर्पण गरिएको थियो। समितिका अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षमा बृहत् खानेपानी योजनाअन्तर्गत नयाँ पानीको स्रोतबाट लिफ्टिङ प्रणालीमार्फत पानी शुद्धीकरण प्लान्टमा पुर्याई शुद्ध खानेपानी वितरण गरिने तथा क्रमशः विभिन्न खानेपानी समितिहरूबीच एकीकरण गरिने जानकारी दिएका थिए ।
कार्यक्रममा पूर्व जिल्ला विकास समितिका सभापति रामेश्वर राना, डाङडुङ्गे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शालिकराम पुडासैनी, समितिका पूर्व अध्यक्ष ठाकुरप्रसाद पौडेल, जिम्बाडाँडा खानेपानी समितिका अध्यक्ष लालकृष्ण प्याकुरेल, सडक क्षेत्र खानेपानी समितिका अध्यक्ष धुर्वप्रसाद पराजुली, सरस्वती खानेपानी समितिका सचिव देवप्रसाद ढकाल, डाङडुङ्गे टोल विकास संस्थाका अध्यक्ष प्रभाकर पुडासैनी, भैरबकुञ्ज टोलका अध्यक्ष मेघनाथ रेग्मी, दुम्सीडाँडा टोल विकास संस्थाका अध्यक्ष शिवप्रसाद अगस्तीलगायतको आतिथ्य रहेको थियो ।






