हेटौँडा, हेटौँडामा यही साउन ३ गते शनिबार आठौँ संस्करणको कोरा साइकल र्याली आयोजना हुने भएको छ। सन् २०१८ देखि लगातार साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले यस वर्षको र्याली ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ विनर’ भन्ने नाराका साथ गर्न लागेको हो।
क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार र्यालीको सम्पूर्ण तयारी पूरा भइसकेको छ। स्वच्छ वातावरण, हरियाली प्रवर्द्धन र हेटौँडालाई साइकलमैत्री शहर बनाउन र्यालीले टेवा पुर्याउने अपेक्षा गरिएको छ। शनिबार बिहान ७ बजे हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर परिसरबाट सुरु हुने र्यालीले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको परिक्रमा गरी बुद्धचोकमा समापन हुनेछ।
१२ वर्षभन्दा माथिका सबै साइकलप्रेमी सहभागी हुन सक्ने यस र्यालीमा चितवन, बारा, पर्सा, काठमाडौँलगायत विभिन्न जिल्लाबाट करिब ३०० जना राइडर सहभागी हुने अपेक्षा गरिएको छ। हालसम्म २५० जनाले नाम दर्ता गराइसकेको अध्यक्ष ताम्राकारले जानकारी दिए।
र्यालीमा सहभागी हुन चाहनेले ३०० रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्न सक्नेछन् भने सहभागीहरूलाई निःशुल्क जर्सी प्रदान गरिने क्लबले जनाएको छ।
हाल हेटौँडा राइडर्स क्लबमा करिब ५ सय सदस्य आबद्ध छन् भने मकवानपुर जिल्लाभर करिब ६ हजार साइकल राइडर रहेको क्लबको दाबी छ। क्लबले हेटौँडालाई दीर्घकालीन रूपमा साइकलमैत्री शहरको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।







