हेटौँडा, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। चन्द्रोदय माध्यमिक विद्यालय हेटौंडाको आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाभरका ८५ सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायकहरूको सहभागिता रहेको थियो।
गोष्ठीमा शैक्षिक संस्थाहरूमा रेडक्रस अभियानलाई सशक्त रूपमा सञ्चालन गर्दै जुनियररयुवा सर्कलको गठन तथा पुनर्गठन गर्ने, रेडक्रस परिचयात्मक गोष्ठी आयोजना गर्ने, पालिका स्तरमा प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने लगायतका विषयमा निर्णय गरिएको जिल्ला शाखाका उपमन्त्री शिवहरि दाहालले जानकारी दिनुभयो।
त्यस्तै, भदौ १३ र १४ गते अरनिको मावि, हेटौंडा–१९ नेवारपानीको आतिथ्यतामा आयोजना हुने जिल्ला जुनियररयुवा रेडक्रस गोष्ठीमा सबै शैक्षिक संस्थाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने लगायत ६ वटा विषयमा महत्वपूर्ण छलफल र निर्णयहरू गरिएका छन्।
गोष्ठीमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानका सन्दर्भमा सुमित्रा काफ्ले, नेपाल रेडक्रस अभियानबारे पिताम्बर बास्तोला, शिक्षक नायकको भूमिका र कर्तव्यबारे शिवहरि दाहाल तथा जुनियररयुवा अभियानबारे लक्ष्मण भट्टराईले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रम रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समिति संयोजक शिवहरि दाहालको अध्यक्षतामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरकी मन्त्री सुमित्रा काफ्ले, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरि वाग्ले, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, जीएस निकेतनका अध्यक्ष ऋषिराम पोखरेल, नेरेसो बस्तिपुर उपशाखाका सभापति राजु घले, चन्द्रोदय माविका प्रधानाध्यापक जिधराज ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद देवकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नेरेसो मकवानपुरका कोषाध्यक्ष किशोर बर्तौला, उप–कोषाध्यक्ष मंगल राखाल, सदस्यहरू रामजी सापकोटा, ईश्वर पण्डित, कृष्णबहादुर सापकोटा, गोकर्ण सुवेदी, नारायण तिमल्सिना, पिताम्बर बास्तोला, हेटौंडा–८ की वडा सदस्य रिता मङ्गराती, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुलप्रसाद पौडेल, नेरेसो मकवानपुर कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा, शिक्षक नायक धनराज फुयाललगायतको उपस्थिति रहेको थियो।






