मुख्यमन्त्री लामाले गुमाए संसदीय दल नेताको हैसियत

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामा अल्पमतमा परेका हुन्।

ADVERTISEMENT

कुल ३७ जना सांसद रहेको संसदीय दलमा लामाको पक्षमा १५ मत मात्रै खसेको छ भने उनको विपक्षमा २२ सांसदले मतदान गरेका छन्। लामाविरुद्ध इन्द्र बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङले मतदान गरेका थिए।

लामाको पक्षमा भने बहादुरसिंह लामा स्वयं, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्ज, गीता गुरूङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गीले समर्थन जनाएका थिए।

संसदीय दलमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मंगलबार मत विभाजन गरिएको हो। बहुमत गुमाएसँगै लामा संसदीय दलको नेताबाट पदमुक्त भएका छन्। दलको नेताबाट हटेसँगै अब मुख्यमन्त्री पद पनि छाड्नुपर्ने नैतिक दबाब लामामाथि बढेको छ। कांग्रेस सांसद इन्द्र बानियाँले आफूलाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *