हेटौंडा, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्। सोमबार नेकपा एमाले र कांग्रेसबीचको सत्ता गठबन्धनको समर्थनमा उनले मुख्यमन्त्री पदको दाबी गरेका हुन्।
बानियाँले नेपाली कांग्रेसका ३७ जना र नेकपा एमालेका २७ जना सांसदको समर्थनसहित संसदीय दलको औपचारिक पत्र संलग्न गरेर दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको थियो।







