सिमखोला बेलिब्रिज निर्माण अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

हेटौंडा, हेटौंडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत सिमखोलामा निर्माणाधीन बेलिब्रिज अन्तिम चरणमा पुगेको छ। गत असोजमा आएको बाढीले क्षति पुर्‍याएको उक्त पुल केही दिनभित्र सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।

बिहीबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले पुलको स्थलगत अनुगमन गरेका थिए। इन्द्रसरोवर गाउँपालिका–२ मा निर्माण भइरहेको उक्त बेलिब्रिजको अवलोकन गर्दै उनले अबको केही दिनमै पुलमार्फत सवारीसाधन आवतजावत सुरु हुने जानकारी दिए।

निरीक्षण टोलीमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक इञ्जिनियर नविन कुमार सिंहलगायत सहभागी थिए। टोलीले निर्माण प्रगति मूल्याङ्कन गर्दै बाँकी काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएको हो।

मन्त्री देवकोटाका अनुसार पुलको सामान्य फिनिसिङ, रंग–रोगन र नालाको व्यवस्थापन बाँकी छ। ती कार्य सम्पन्न गरी सवारी सञ्चालनको अन्तिम तयारी भइरहेको छ। उनका अनुसार अहिले खोलामार्ग डाइभर्सन प्रयोग गर्नुपर्ने अवस्था हटिसकेको छ र अब यातायात थप सहज हुने छ। साथै, पुलको भारवहन क्षमता परीक्षण गरी सुरक्षित रूपमा सञ्चालन गर्न समेत निर्देशन दिइएको छ।

उनले सडक दीर्घकालीन रूपमा सञ्चालन योग्य बनाउन आवश्यक संरचनागत सुधार तथा नयाँ प्रविधिको प्रयोगमा छलफल भइरहेको जानकारी पनि दिए। पहिरो प्रभावित क्षेत्रहरूको व्यवस्थापन, विपद् पूर्वतयारी, सवारी आवागमनको निरन्तरता, र आवश्यक उपकरणको तयारीमा विशेष ध्यान दिनुपर्ने उनले बताए।

गत असोजमा आएको भारी वर्षापछि कुलेखानी जलाशय ‘ओभरफ्लो’ हुँदा ड्यामको तल्लो भागमा रहेको सिमखोला पुलसँगै सडकको दायाँ–बायाँको पहुँचमार्ग बगाएको थियो। सो समयमा खोलामार्गबाट डाइभर्सन गरी सवारी सञ्चालन गरिएको थियो।

हाल निर्माण भइरहेको सिमखोला बेलिब्रिज ६४ मिटर लम्बाइको रहेको छ। सोका लागि भैंसे–भीमफेदी सडकखण्डअन्तर्गत घट्टेखोलाको १३ मिटर र मान्डुखोलाको ५० मिटर लम्बाइका बेलिब्रिज खोलिएर ल्याइएको हो।

निर्देशक सिंहका अनुसार पुल जडान, पक्की पहुँचमार्ग निर्माण, र वरिपरि क्षति पुगेका सडकको मर्मत–सम्भारका लागि गौरव इन्जिनियर्स प्रालिले १ करोड ८८ लाख रुपैयाँमा ठेक्का पाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *