हेटौँडा, मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन साविक विजेता तमु बहुउद्देश्यीय कृषि, मंगलेश्वर र हेटौँडा उपमहानगरपालिकाले विजयी सुरुवात गरेका छन् ।
विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा सञ्चालित मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा तमु बहुउद्देश्यीय कृषिले ड्रिमर युवा क्लबलाई पराजित गरेको हो । तमुले २५–१२ र २५–१४ को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
त्यस्तै, दोस्रो खेलमा छैटौँ र सातौँ संस्करणको विजेता मंगलेश्वरले कालिका देवी युवा क्लबलाई २५–१२ र २५–१६ को सोझो सेटमा पराजित गर्यो । दिनको अन्तिम खेलमा हेटौँडा उपमहानगरपालिकाले कुमारी युवा क्लबलाई २५–९ र २५–११ को सोझो सेटमा हराउँदै विजयी भएको छ ।
कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका ११ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको यो नवौँ संस्करण हो ।
प्रतियोगिताको यस वर्ष पुरस्कार राशि वृद्धि गर्नुका साथै खेल सञ्चालनका नियममा समेत केही परिवर्तन गरिएको आयोजकले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख १ हजार १११ रुपैयाँ र द्वितीय हुने टोलीले ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गत वर्ष सम्पन्न आठौँ संस्करणमा प्रथम हुने टोलीले ५५ हजार ५५५ रुपैयाँ, द्वितीय हुने टोलीले २८ हजार ८८८ रुपैयाँ र तृतीय हुने टोलीले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । यस वर्ष भने पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । सेमिफाइनल चरणपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ समेत प्रदान गरिने आयोजकले जनाएको छ ।








