हेटौंडा, मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टमा ९ किलो २०० ग्राम गाँजासहित दुई नाबालकलाई पक्राउ गरेको छ।
चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार दुई नाबालकको साथबाट गाँजा बरामद भएको हो। प्रहरीले नाबालकहरूले बोकेको झोला शंकास्पद पाएर खानतलासी गर्दा झोलाभित्र प्लाष्टिकमा प्याक गरी राखिएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ परेका नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार लागुऔषध कारोबारीहरूले नाबालकहरूलाई गाँजा ओसारपसार गर्न प्रयोग गरेको हुन सक्ने आशंका गरिएको छ।







