हेटौंडा, थाहा नगरपालिकामा जारी पाचौँ थाहा गोल्ड कप उपाधीको लागि ऋषेश्वर ११ र चित्लाङ खेलकुद विकास समिति भिड्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा ॠषेश्वर ११ ले सकृय युवा क्लबलाई ८–२ को गोल अन्तरले पराजित गर्दै ऋषेश्वर फाइनल प्रवेश गरेको हो ।

खेलको १५औं मिनेटमा ॠषेश्वर ११ ले पाएको पेनाल्टीलाई रिचर्ड विल्सनले सिधै आउट हानेका थिए । प्रतियोगितामा ऋषेश्वरका लागि संजोग महर्जनले १७ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको ५७ औँ र ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्न सफल भए । यसैगरी ॠषेश्वरका रिचर्ड विल्सनले प्रतियोगितामा व्यक्तिगत ४ गोल गर्न सफल भए । प्रतियोगितामा ४ गोल गर्न सफल भएका रिचर्ड म्यान अफ दी म्याच घोषित भए ।
ऋषेश्वरका समिरराज थोकरले ३४ औं मिनेटमा तेश्रो गोल गरेका थिए । सकृय युवा क्लबका लागी सुनिल शाह ठकुरीले एक गोल गरेका थिए । त्यसै गरी आज भएको दोस्रो सेमिफाइनल खेलमा कुर्दन एकेडेमीलाई सडेनडेथ पराजित गर्दै चित्लाङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
दोश्रो सेमीफाइनल खेल २र२ गोलको बराबरीमा सकिए पछि सडेन डेथमा पुगेको थियो । जसमा चित्लाङ खेलकुद बिकास समिति बिजयी बनेर फाइनलमा पुग्न सफल बनेको छ । यस खेलमा कुर्दन एकेडेमीका लागी अनिल खडकाले २४ औं मिनेटमा र रोहितले ८२ औं मिनेटमा एक गोल गरेका थिए । चित्लाङका लागी अफ्रिकी खेलाडी फैसल जफा एक्लैले ४० र ५१ मिनेटमा दुई गोल गरेका थिए । जेठ १५ गते चित्लाङ खेलकुद बिकास समिती र ॠषेश्वर ११ बिच दिउसो १ बजे फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले पुरस्कार नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।






