हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषा, धर्म र संस्कृतिलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरेका छन् ।
तामाङ पत्रकार सङ्घद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले यस्ता संवेदनशील विषयलाई राजनीतिक लाभ–हानिको साधन बनाउँदा समाजमा विभाजन आउने खतरा रहेको औँल्याए । ‘धर्मको नाममा, जातको नाममा वा भाषाको कुरा गरेर राजनीति गर्नु हुँदैन,’ उनले भने, ‘विगतमा कसैले धर्म त कसैले जातको नाममा भ्रम सिर्जना गरे, तर अब त्यसो गर्नु उपयुक्त हुँदैन ।’
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार भाषा संरक्षणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै तामाङ र नेवार भाषालाई प्राथमिकतामा राखी अग्राधिकार दिइसकेको बताए । ‘भाषा कुनै एक जातिको मात्र नभएर सबैका लागि ज्ञानको स्रोत हो,’ उनले जोड दिए, ‘तामाङ भाषाको ज्ञान क्षेत्री, बाहुन, दलित सबैले लिन सक्छन् । यसले सबैलाई जोड्छ ।’
उनले धर्मको वास्तविक अर्थ मानवताको सेवा र न्यायको पक्षमा उभिनु भएको व्याख्या गर्दै भाषा, संस्कृति र परम्पराको संरक्षण, जगेर्ना र प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको बताए । कार्यक्रममा पत्रकार भुवन घलान र अर्जुन बहादुर तामाङलाई सम्मान गरिएको थियो ।







