हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । उनले प्रदेशका १३ मन्त्रीहरूसँग नतिजा–सूचकमा आधारित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ तथा प्रदेश नियमावली, २०७७ को नियम ९ बमोजिम गरिएको सम्झौतामा चालु आर्थिक वर्ष २०८२र८३ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्य तथा जिम्मेवारी तोकिएको छ । यस अन्तर्गत अनुगमन तथा निरीक्षण, कार्यक्रम कार्यान्वयन, वित्तीय खर्च, गुनासो फर्स्योट, तथ्याङ्क संकलन, नागरिक गुनासो सुनुवाइ, मन्त्रालय र मातहत निकायका लागि आवश्यक नीति निर्माण लगायतका सूचक निर्धारण गरिएका छन् ।
यस्ता सूचकका आधारमा मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन प्रत्येक तीन महिनामा गर्ने व्यवस्था गरिएको छ ।
सम्झौतापछि कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले कार्यसम्पादन सम्झौता संघीयता सुदृढ गर्ने आधार भएको उल्लेख गर्दै संघीयतामाथि आएका नकारात्मक टिप्पणीलाई भाषणले नभई कामले जवाफ दिने बताए । उनले सम्झौतामा तोकिएका कामसँगै जनअपेक्षाअनुसारका अतिरिक्त काम पनि गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले राम्रो काम गर्ने नेतालाई जनताले निरन्तरता दिने व्यवस्था लोकतन्त्रमा मात्रै सम्भव भएको उल्लेख गरे । उनले सुशासन, पारदर्शिता र जवाफदेही ढंगले काम गर्न मन्त्रीहरूलाई निर्देशन दिँदै विगतका सरकारका राम्रा कामलाई निरन्तरता दिने र बाँकी रहेका कामलाई कानुन बनाएर छिट्टै सम्पन्न गर्नेमा जोड दिए ।







