हेटौंडा, हेटौंडा–२ चौकीटोलस्थित भाटभटेनी सुपरमार्केटको भौतिक संरचना र बिक्रीका लागि राखिएका सामान आगजनीमा जलेका छन्। आगजनीअघि आन्दोलनमा संलग्न केही व्यक्तिहरूले सामान लुटपाट गरेको स्थानीयले बताएका छन्।
करिब २०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको भाटभटेनीले ठूलो आर्थिक क्षति बेहोरेको छ। यससँगै त्यहाँ कार्यरत कर्मचारीहरूको रोजीरोटीसमेत संकटमा परेको छ। रोजीरोटीका लागि भाटभटेनीमा आश्रित श्रमिकहरू अहिले खरानी पन्छाउँदै सरसफाइमा जुटिरहेका छन्। सोमबार समेत कर्मचारीहरू सामूहिक रूपमा जुटेर जलेका र्याकका टिन, जिप्सन बोर्ड, फुटेका सामग्री व्यवस्थापन गरिरहेका थिए।
भाटभटेनीमा कार्यरत एक कर्मचारीका अनुसार सबै कर्मचारीले आफ्नोतर्फबाट सुपरमार्केटलाई पुनः सञ्चालनमा ल्याउन योगदान दिइरहेका छन्।
यद्यपि हेटौंडास्थित भाटभटेनी पूर्ववत् अवस्थामा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अन्योल कायमै छ। तर पनि कर्मचारीहरू खण्डहरबीचबाट उठेर फेरि भाटभटेनीलाई जुर्मुराउने विश्वासमा छन्।






