हेटौंडा, निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा वर्तमान कार्यसमितिका अध्यक्ष श्याम ढकालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी उनले एक कार्यकाल अध्यक्ष भएर काम गर्ने इच्छासहित उम्मेदवारी घोषणा गरेका हुन् । यसपटक अध्यक्ष पदमा रहँदा कोरोना (कोभिड १९) महामारी, महंगी लगायतका कारणले सोचे जस्तो काम गर्न नपाएको उल्लेख गर्दै उनले आफ्ना अधुरा योजना पूरा गर्न पुन: दोहोरिन चाहेको बताए ।
‘३ बर्ष संघ र व्यवसायीको हितमा काम गर्न खोजें । कोरोना र महंगीको कारण यो कार्यकालमा सोचे जस्तो काम गर्न सकिन, कामै गरेन भनेर म माथि केही हिलो पनि लगाउन खोजियो, त्यो सफा गर्न पनि यसपटक मेरो उम्मेदवारी हो’, ढकालले भने । संघक २३ औं साधारणसभा तथा ११ औं अधिवेशन यहि माघ २८ र २९ गते हुँदैछ । एस.एस कन्सट्रक्सनका प्रोपाइटर रहेका ढकालले १७ बर्षदेखी कार्यसमितिको विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
उनले कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव र अध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । व्यवसायिक एवम् संस्थागत हितमा काम गर्ने उद्येश्य रहेको दोहोर्याउँदै उनले केही काम गरेर देखाउने अठोट रहेको बताए । संघमा ४४५ मतदाता रहेका छन् । संघको अधिवेशनले अध्यक्षसहित १८ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने ४ जना पछि मनोनित गर्नेछ । यसअघि संघका प्रथम उपाध्यक्ष बालगोपाल कंडेलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।






