हेटौँडा, मकवानपुर र बाराको सिमानामा पर्ने हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
करिब दिउँसो २ः५० बजे तनहुँस्थित नं. २ राजदल गणबाट धनुषातर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको सैनिक टोली दुर्घटनामा परेको हो। चारवटा ट्रकमध्ये लु २८० नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो ट्रकमा २२ जना सेना सवार थिए। सडक छेउको पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन्। घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली खटिएको थियो। नेपाली सेनाकै सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।







